राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !

काठमाण्डू, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी परिमाणको सुन लुटपाट भएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंश, तोडफोडका क्रममा संसद भवनसँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रवेश गरी ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी सुन लुटिएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जानकारी दिए ।

उनका अनुसार आन्दोलनकारीको नाममा बैंकको शाखामा प्रवेश गरेको अराजक समूहले त्यहाँको सीसी फूटेज पहिला फुटाएर लुटपाट मच्चाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा बानेश्वरको शाखाबाट मात्र ५ करोडभन्दा बढी नगद तथा १८ केजीभन्दा बढी सुन लुटपाट भएको खनालले दाबी गरेका छन् ।

लुटपाट भएको विषयमा बैंकले नेपाल राष्ट्रबैंकलाई जानकारी गराइसकेको छ ।

यस्तै, मंगलबार घटनास्थलको मुचुल्का गरी प्रहरीले समेत अनुसन्धान शुरु गरेको उनको भनाई छ ।

बैंकको सीसीटिभी लुटेराको समूहले फुटाए पनि विभिन्न सञ्चारमाध्यम तथा विभिन्न व्यक्तिहरुले लुटपाट हुँदाको समयको फूटेज खिचेकाले प्रहरीले त्यसका आधारमा अनुसन्धान बढाउनसक्ने उनको अनुमान छ ।

देशका अन्य क्षेत्रमा रहेका राष्ट्रिय वाणिज्य बैंकका केही काउण्टरहरुमा समेत तोडफोड भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *