सेनेगल अफ्रिका कप अफ नेशसन्सको अन्तिम १६ मा प्रवेश

एजेन्सी, अफ्रिका कप अफ नेशसन्समा सेनेगलले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

शुक्रबार राति भएको खेलमा क्यामरुनलाई पराजित गर्दै सेनेगलले लगातार दोस्रो जितका साथ समूह सीबाट अफ्रिका कपको नकआउट चरणमा स्थान पक्का गरेको हो ।

सेनेगलले क्यामरुनविरुद्ध ३–१ गोल अन्तरको जित निकालेको हो । इस्माइला सारले १६ औं मिनेटमा अग्रता दिलाएका थिए ।

अरु गोल भने खेलको अन्त्यतिर निस्किए । ७१ औं मिनेटमा मोहम्मदु डिआलोले गोल गरेपछि सेनेगलको अग्रता दोब्बर भएको थियो ।

८३ औं मिनेटमा जिन कार्लेसले क्यामनरुनका तर्फबाट १ गोल फर्काउँदै अन्तर कम गरेका थिए ।

तर, दोस्रो हाफको अतिरिक्त समयमा साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ को सहज जित दिलाए ।

समूह सीकै अर्को खेलमा गुएनाले गम्बियालाई १–० गोल अन्तरले पराजित गरेको छ । अगुइबो कमाराले ६९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

समूह सीबाट सेनेगल ६ अंकका साथ शीर्ष स्थानमा छ भने गुएना ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

क्यामरुनले १ अंकमात्रै जोडेको छ भने गाम्बियाले खाता खोल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *