धनगढी, सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्गको यात्रा अहिले केही सहज बनेको छ ।
२०८० साउनमा आएको विनाशकारी पहिरोले क्षतविक्षत बनाएको कैलालीको गोदावरी–५ खानीडाँडा र बुढीतोला क्षेत्रको सडकखण्ड लामो प्रयासपछि मर्मत भएको हो ।
यसबाट चालक र यात्रीले राहतको सास फेरेका छन् । उक्त सडक खण्डको मुख्य मर्मत सकिए पनि कालोपत्रेको काम बाँकी छ
‘लामो समयसम्म यो बाटोमा गाडी चलाउँदा मनमा डर हुन्थ्यो, कतिबेला के हुने हो भन्ने पत्तो थिएन,’ नियमित रूपमा यो सडकमा बस चलाउने चालक दीपक रावलले खुसी व्यक्त गर्दै भने, ‘अहिले पर्खाल लगाएर बाटो फराकिलो बनाएपछि ढुक्क भएको छ । पिच पनि छिटै भइदिए अझै राम्रो हुन्थ्यो ।’
रावलजस्तै यो बाटो भएर आवतजावत गर्ने यात्री माधवी मगर पनि सडक मर्मतले यात्रा सुरक्षित भएको बताउँछिन् ।
‘पहिले गाडी भासिएको ठाउँमा पुग्दा अप्ठ्यारो हुन्थ्यो, अहिले बाटो राम्रो र चौडा देख्दा निकै आनन्द आउँछ,’ उनले भनिन् ।
२०८० साल साउन २३ गतेको अविरल वर्षाले भीमदत्त राजमार्गमा ठुलो क्षति पुर्याएको थियो ।
खानीडाँडा र बुढीतोला क्षेत्रमा गरी करिब ५७० मिटर सडक भासिनुका साथै माथिबाट पहिरो खसेको थियो ।
यो क्षतिले सुदूरपश्चिमका सात पहाडी जिल्ला (डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला) को सम्पर्क एक सातासम्म टुटेको थियो ।
राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा पहाडी जिल्लाहरूमा दैनिक उपभोग्य वस्तुको अभाव भयो र जनजीवन कष्टकर बन्यो ।
त्यतिवेला प्रदेशका मुख्यमन्त्रीदेखि संघीय मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले क्षतिको अवलोकन गर्दै तत्काल मर्मतको आश्वासन दिएका थिए ।
आश्वासनअनुसार तत्कालका लागि एकतर्फी यातायात सञ्चालनमा ल्याइए पनि पूर्ण मर्मतको प्रक्रियाले लामो समय लियो ।
करिब दुई वर्षको कष्टप्रद प्रतीक्षापछि मात्रै सडकको दिगो मर्मतले सार्थकता पाएको छ ।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरका अनुसार पहिरोको प्रकृति निकै जटिल भएकाले मर्मतमा ढिलाइ भएको हो ।
सडक डिभिजन कार्यालयका सीडीई राजेश कुमार यादवका अनुसार, पहिरो गएको एक महिनाभित्र दुईतर्फी यातायात सञ्चालनमा ल्याइए पनि दिगो समाधानका लागि विस्तृत अध्ययन आवश्यक थियो ।
‘त्यो सामान्य पहिरो थिएन । जमिनमुनिको पानीका कारण ठुलो भू–भाग नै भासिएको थियो,’ यादवले भने, ‘त्यसैले हामीले तत्कालै परामर्श सेवामार्फत जियोलोजिकल र जियोटेक्निकल अनुसन्धान गरायौँ ।
माटो र चट्टानको परीक्षण गर्न, पानीको सतह पत्ता लगाउन र पहिरो रोक्ने उत्तम प्रविधि पहिचान गर्नमै तीन महिनाभन्दा बढी समय लाग्यो ।’
यही अध्ययनको निष्कर्ष र सुझावका आधारमा पहिलो चरणको मर्मतका लागि गत वैशाख २७ गते ‘जीएसआई हटैराज जेभी’ कम्पनीसँग ६ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भयो ।
यो बजेट नियमित नभई सडक बोर्डबाट विशेष व्यवस्था गरिएको थियो ।
अध्ययनले जमिनमुनिको पानी नै पहिरोको मुख्य कारण भएको देखाएपछि मर्मतको काम सोही समस्या समाधानमा केन्द्रित रह्यो ।
सीडीई यादवका अनुसार पहिरो नियन्त्रणका लागि भूमिगत पानी व्यवस्थापन गर्न पाँच वटा इनार निर्माण गरिएको छ ।
यी इनारले जमिनमुनिको पानी संकलन गरी सुरक्षित रूपमा निकास दिन्छन्, जसले गर्दा जमिन स्थिर रहन्छ ।
‘हामीले स्लोप स्टेबलाइजेसन (भिरालो जमिनको स्थिरीकरण) को कामलाई प्राथमिकता दियौँ,’ उनले थपे, ‘इनार बनाउने, सब–सर्फेस ड्रेनेजको काम गर्ने, सडक काटेर फराकिलो बनाउने र बायो–इन्जिनियरिङ (वनस्पतिको प्रयोगबाट जमिनलाई स्थिर बनाउने)को काम सम्पन्न भएका छन् ।’
सडक भासिएको ठाउँमा १० मिटरसम्म अग्लो मेकानिकल पर्खाल लगाएर सडकलाई बलियो बनाइएको छ ।
मुख्य मर्मतको काम सकिए पनि सडक कालोपत्रे (पिच) भने तत्काल नहुने भएको छ ।
सीडीई यादवका अनुसार भर्खरै मर्मत गरिएको र जमिनको ‘मूभमेन्ट’ अझै बाँकी रहन सक्ने भएकाले पिचका लागि केही समय लाग्ने छ ।
‘कालोपत्रेको काम पहिलो चरणको ठेक्कामा समावेश थिएन ।
किनभने भर्खरै मर्मत गरिएको ठाउँ पूर्ण रूपमा स्थिर हुन समय लाग्छ, एक वर्षपछि जमिनको अवस्था हेरेर मात्र कालोपत्रेका लागि छुट्टै ठेक्का लगाइनेछ,’ उनले भने ।
अहिले स्लोप स्थिरीकरण र पर्खाल निर्माणको काम सकिएसँगै राजमार्गमा दुईतर्फी सवारी साधन सहज रूपमा चल्न थालेका छन् ।
वर्षायाममा पहिरो खसेर बाटो अवरुद्ध हुने त्रासबाट चालक र यात्रीले तत्कालका लागि मुक्ति पाएका छन् ।
यद्यपि कालोपत्रेको काम सम्पन्न भए अझ सहज हुने चालकहरू बताउँछन् ।
मुख्य सडकखण्डको मर्मत काम सकिएसँगै अब कालोपत्रेको काम छिटो शुरु गरेर सडकलाई पूर्णरूपमा कालोपत्रे गर्नुपर्ने यात्री तथा चालकहरूको माग छ ।
