Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कारागारमा चौकीदार र नाइकेले शासन चलाउन पाउने व्यवस्थाले निम्त्यायो भिडन्त

- shuvadmin / बिहिबार, भदौ ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दुई साताअघि कैलाली कारागारभित्र भएको झडपमा को–को संलग्न छन् भन्ने छानबिन समितिले पनि पत्ता लगाउन सकेन।

एक जना कैदीको ज्यान जानेगरी झडप भएपछि प्रमुख जिल्ला अधिकारीले कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरेका थिए।

समितिले मंगलबार प्रतिवेदन बुझाएको छ। तर, उक्त प्रतिवेदनमा झडप कसरी भएको र को–को संलग्न छन् भन्ने खुल्न नसकेको संयोजक जोशीले नेपालखबरसँग बताइन्।

‘हामीले घटनास्थलका सीसीटीभी फुटेज पनि हेर्‍यौँ, त्यहाँ त्यति प्रस्ट देखिएन। झडपमा घाइते भएकाहरूसँग पनि सोधपुछ गर्‍यौँ।

उनीहरूले केही मान्छे देखाए तर जसलाई आरोप लगाएका थिए उनीहरूले घटनामा संलग्नता स्वीकार गरेनन्।

यो अवस्थामा हामीले उनीहरूलाई किटान गरेर प्रतिवेदन दिन सकेनौँ,’ जोशीले भनिन्। छानबिन समितिले विज्ञ र प्राविधिकसहितको अर्को उच्चस्तरीय समिति बनाउन सुझाव दिएको छ।

गत साउन २३ गते कैलाली कारागारका कैदीबन्दीबीच झडप भयो। ए ब्लक र बी ब्लकका कैदीबन्दीबीच भएको झडपमा बी ब्लकका कैदी ४० वर्षका भरत चौधरीको मृत्यु भयो।

अरु ४७ जना घाइते भए। तीमध्ये तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो। अरुको त्यहीँ उपचार भयो, केही अझै उपचारकै क्रममा छन्।

घाइते सबै बी ब्लककै कैदीबन्दी हुन्। अस्पतालबाट डिस्चार्ज भइसकेका घाइते कैदीबन्दीहरूलाई पनि पुनः कारागार फर्काइएको छैन।

तत्काल कारागार पठाए फेरि झडप हुन सक्ने कारागार प्रशासनको ठम्याइ छ। जिल्ला सुरक्षा समितिले पनि तत्काल उनीहरूलाई कारागार नफर्काउने बरु अन्य कारागार सार्ने पहल थालेको छ।

कारागारमा ज्यान लिने घटनाको कारक भने आन्तरिक प्रशासन अर्थात् कैदीलाई नै कर्मचारी राख्ने व्यवस्था भएको जानकारहरू बताउँछन्।

यही व्यवस्थाले पछिल्लो समय कारागारमा यस्ता घटना दोहोरिरहेका छन्।

कैलाली कारागार झडपको कारण

कैलाली कारागारमा तीन वटा ब्लक छन्। ए, बी र सी गरी छुट्याइएका ब्लकमध्ये सीमा महिला कैदीबन्दीलाई राखिएको छ।

सबैभन्दा बढी कैदीबन्दी ए ब्लकमा छन्। सबैभन्दा कम महिला ब्लकमा। ए ब्लकमा ३९७ जना, बी मा २०२ जना र सी ब्लकमा ५७ जना महिला कैदीबन्दी छन्।

यो संख्या दिनदिनै तलमाथि भइरहन्छ। तर कारागारको क्षमता भने तीन वटै ब्लकमा गरी १५० जना मात्र हो। तर क्षमताभन्दा ५ गुणा बढी कैदीबन्दी यहाँ राखिएको छ।

८० वर्ष पुरानो कारागारमा एउटा ब्लकबाट अर्को ब्लकमा जान नमिल्ने गरी कैदी राखिएको छ। तर पर्खाल नाघेर जान खोजे जान सकिन्छ।

साउन २३ गते घटना हुँदा पनि कैदीबन्दीहरू एउटा ब्लकबाट अर्को ब्लकमा पर्खाल नाघेरै पसेका थिए।

आक्रमणको कारण थियो आन्तरिक प्रशासनका कर्मचारी नियुक्ति। आन्तरिक प्रशासन भनेको कैदीबन्दीलाई समन्वय गर्न कैदीबन्दी मध्येबाटै नियुक्त कर्मचारी (चौकीदार, नाइके र सहनाइके) हुन्।

हरेक आर्थिक वर्षमा यी पदमा कर्मचारी नियुक्त गरिन्छ। एउटा कारागारमा एक जना महिला र एक जना पुरुष चौकीदार हुन्छन्।

तर, नाइके २५ जना कैदीबन्दी बराबर एक जना हुन्छन्। १० जना कैदीबन्दी बराबर एक जना सहनाइके नियुक्त गरिन्छ।

नाइके र सहनाइके कारागारले नै नियुक्त गर्छ। तर, चौकीदार नियुक्तिका लागि छुट्टै समिति हुन्छ र समितिको सिफारिसका आधारमा कारागार व्यवस्थापन विभागले नै देशैभरका कारागारमा नियुक्त गर्छ।

यसरी नियुक्त हुने यी तीन पदका कर्मचारी हरेक आर्थिक वर्षका लागि मात्रै हुन्। उनीहरू अर्को वर्षका लागि नियुक्त गर्न परे फेरि त्यही प्रक्रिया हुन्छ।

चौकीदार नियुक्त गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सदस्य र कारागार प्रशासक सदस्य सचिव रहेको समिति हुन्छ।

चौकीदार नियुक्तिका लागि मापदण्ड पुगेका कैदीबन्दीबाट निवेदन माग गरिन्छ। प्राप्त निवेदन मध्येबाट समितिले मापदण्ड पुगेकालाई अन्तर्वार्ता पनि लिन्छ।

त्यसपछि नियुक्तिका लागि समितिले सिफारिस गरेर कारागार व्यवस्थापन विभागमा पठाउँछ। विभागको सहमतिपछि चौकीदार नियुक्त हुन्छन्।

चौकीदारको हरेक महिना ६ दिनका दरले वर्षको ७२ दिन कैद मिनाहा हुन्छ। उनीहरूले पाउने अतिरिक्त सुविधा यही हो।

तर, कैदीबन्दीका समस्या, गुनासादेखि कारागार प्रशासनसम्म र प्रशासनका जानकारी तथा सेवासुविधाका कुरा कैदीसम्म पुर्‍याउने काम चौकीदारले नै गर्छन्।

कारागारका नाइके र सहनाइकेहरूले पनि चौकीदार मार्फत नै त्यहाँका कुरा प्रशासनसम्म पुर्‍याउँछन्। चौकीदारको भूमिका कैदीबन्दी र कारागार प्रशासनको बीचमा समन्वय गर्ने हो।

कारागारले असार मसान्तमा कैदीबन्दी गणना गरेर कति नाइके र सहनाइके रहने भन्ने निर्क्यौल गर्छ। नियुक्त भइसकेपछि कारागारभित्रको कार्यविभाजन उनीहरूले नै मिलाउँछन्।

कसैलाई खेलकुद नाइके, मेडिकल नाइके, शिक्षक नाइके र कसैलाई भान्सा नाइके भनेर तोकिन्छ। नाइकेहरूले आआफ्नो जिम्मेवारीमा परेको क्षेत्र हेर्छन्। केही परे सिधै चौकीदारसँग समन्वय गर्छन्।

कैदीबन्दीलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या आइपरे मेडिकल नाइकेलाई खबर गर्छन्। उनले चौकीदारलाई भनेर प्रशासनसम्म त्यो समस्या पुर्‍याउँछन् र समाधान गर्छन्।

अन्य नाइकेले पनि आफ्नो जिम्मेवारीको यसैगरी काम गर्छन्।

यसबापत नाइकेले वर्षको ६० दिन र सहनाइकेले ४८ दिन कैद छुट सुविधा पाउँछन्। जिम्मेवारी राम्रोसँग गरेको अवस्थामा फेरि दोहोरिने सम्भावना हुन्छ। नभए आर्थिक वर्षपछि परिवर्तन गरिन्छ।

देशभरका कारागारमा जस्तै कैलाली कारागारमा पनि असार मसान्तपछि नयाँ चौकीदार, नाइके र सहनाइके नियुक्त गर्नु पर्ने थियो।

तर, कैलाली कारागारमा दुई वटा ब्लकको बीचमा चौकीदार कुन ब्लकबाट नियुक्त गर्ने भन्ने विवाद देखियो। कैदीबन्दीभित्रैबाट सहमति गरेर नाम पठाउन सके प्रशासनले उसैलाई नियुक्त गर्छ। अनि कारागारभित्रै उसैको शासन चल्छ।

साउन लाग्दा पनि त्यहाँ चौकीदार नियुक्त हुन सकेको थिएन। ए ब्लकका कैदीबन्दी धेरै भएकाले उनीहरूले चौकीदार आफ्नो ब्लकबाट हुनु पर्ने अडान राखिरहेका थिए। तर बी ब्लकका कैदीबन्दीले पनि चौकीदारमा दाबी छाडेनन्।

प्रशासनले कारागारभित्रको यो विवाद सुनेको नसुन्यै गर्‍यो। भित्र बढ्दै गरेको विवादले यो रूप लियो।

यो व्यवस्थामाथि संसदमै प्रश्न

कैलाली कारागारको झडपपछि प्रतिनिधि सभाका सांसद सुहाङ नेम्बाङले गत साता कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा चौकीदार, नाइके र भाइनाइके राख्ने व्यवस्थामाथि नै प्रश्न उठाए।

उनले विश्वका कुनै पनि देशका कारागारमा नाइके, भाइनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताए।

‘जुन तरिकाको नाइके, भाइनाइके र चौकीदारको कुरा छ, मैले विश्वको धेरै ठाँउहरूको रिर्सच गरेँ,’ नेम्बाङले भने, ‘कुनै पनि ठाउँमा कानुन नै लेखेको चाहिँ छैन।

तर, हाम्रो कारागार व्यवस्था नियमावलीमा दफा ५३ मा यसको व्यवस्था गरिएको रहेछ। हुन त कानुन बनाउनेले, नियमावली निर्माण गर्नेले सोचेर नै गर्नुभयो होला।

उहाँको आशय त्यहाँभित्र व्यवस्थापन गर्न सहजीकरण हुन्छ भनेर बनाउनुभएको होला। तर, यसले एउटा विकृति ल्याएको छ।’

नाइके, भाइनाइके र चौकीदारहरूले त्यहाँ भित्र दमन गरेर राखेको कुरा सुनिएको पनि उनले बताए। सांसद नेम्बाङले भनेकै विषय यसअघि राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा पनि उठाइएको थियो।

कारागारहरूको अनुगमनपछि आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नाइके तथा भाइनाइकेबाट कैदी तथा बन्दीहरूउपर गरिने शारीरिक तथा मानसिक यातनाको अन्त्य गरिनुपर्ने तथा त्यस्तो यातना दिने व्यक्तिलाई कारबाही गरिनु पर्ने सुझावमा उल्लेख छ।

केही कारागारमा नाइके तथा चौकीदारहरूबाट कुटपिट हुने गरेको गुनासो आएको पनि आयोगले उल्लेख गरेको छ।

कैलालीमा घटना हुनु २० दिनपहिले मात्रै नाइके तोक्ने विषयमै सिरहा कारागारमा पनि झडप भएको थियो। नाइके को हुने भन्ने विषयमा भएको झडपमा १३ जना घाइते भएका थिए।

कैलाली कारागारको झडपपछि जेलर प्रकाश ढुंगानालाई हटाएर बसन्तबहादुर खत्रीलाई खटाइएको छ। अहिलेको अवस्था साम्य भइसकेपछि त्यहाँ पुनः चौकीदार, नाइके र भाइनाइके नियुक्तिको प्रक्रिया अगाडि बढाउने कारागारको तयारी छ।

Page Views: 22
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama