सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

टप इन्ड टी-२० सिरिज : पहिलो जितको खोजीमा नेपाल

काठमाण्डू, अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल र बिग ब्यास क्लब होबार्ट हरिकेन्स भिड्दै छन् ।

लगातार तीन हार व्यहोरेको नेपाली टोली आज पहिलो जितको खोजीमा चौथो खेल खेल्दैछ । डार्बिनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे शुरु हुनेछ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली रहेको छ भने हरिकेन्सको कप्तानी म्याकालिस्टर राइटले सम्हाल्नेछन् ।

नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

नेपालको प्रतिद्वन्द्वी होबार्टको प्रदर्शन पनि मिश्रित रहेको छ । ३ खेल खेलेको होबार्टले १ खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ ।

पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६–६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।

हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई सेमिफाइनलको आशा जीवित राख्न पनि आजको खेल जित्नै पर्ने दबाब छ ।

यो खेलपछि नेपालले बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *