‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ कोदो दिवस मनाइँदै

काठमाण्डू, सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ।

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए।

कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजार बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासंघ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदर पत्र वितरणको कार्यक्रम छ।

प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ।

खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन् ।

गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालिएको छ।

सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौँजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन्।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ ।

धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको हो।

गाउँघरमा परम्परागत रुपमा खेती गरिदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ।

बजारका ठूला–ठूला होटल रेष्टुराँ, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ। कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा ग्राहकको आकर्षण छ।

घरबास (होमस्टे) मा विशेष गरी कोदोबाट विभिन्न परिकार बनाएर खुवाउने चलन पनि छ।

कुनै समय गाउँघरमा बिहान साँझको जीविकाका लागि पाक्ने कोदो हिजोआज सहर बजारका ठूला–ठूला होटल, रेष्टुराँमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ।

अहिले गाउँघरमा कोदोको परिकार खासै पाक्दैनन् तर सहर बजारका होटलमा यसको परिकार ग्राहकको रोजाइमा परेको छ।

पहिला–पहिला कोदो गरिब, विपन्नको घरमा खाने अनाजको रुपमा समेत लिइन्थ्यो भने अहिले ठूला घर परिवारका सदस्यको रोजाइमा कोदो पर्दछ।

पहिलेको तुलनामा कोदोबाली लगाइने क्षेत्रफल घट्दो क्रममा छ। देशको कुल खाद्यान्न बालीको क्षेत्रफलको ७.७ प्रतिशत हिस्सा ओगट्ने कोदोले ओगटेको कुल क्षेत्रफलमध्ये ९५ प्रतिशत पहाडी भेगमा मात्रै पर्छ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार २०७१ सालमा २ लाख ६७ हजार हेक्टरमा कोदो खेती भएकोमा ३ लाख ८ हजार मेट्रिक टन उत्पादन भयो।

आ.व. २०७४/७५ मा देशभर २ लाख ६३ हजार ४९७ हेक्टरमा कोदो खेती गरिएकोमा ११९२ के.जी. प्रतिहेक्टरका दरले ३ लाख १३ हजार ९८७ मे।टन उत्पादन भएको थियो।

कोदो खेती घट्दै २०७९ मा २ लाख ६७ हजार हेक्टरमा मात्र कोदो रोपिएको थियो।

८ वर्षको अवधिमा कोदोको उत्पादकत्वमा पनि उल्लेख्य बढ्न सकेन। २०७१ सालमा १.१५ मेट्रिक टन प्रतिहेक्टर फलेको कोदोको उत्पादकत्व २०७९ मा १.२७ मेट्रिक टन पुगेको तथ्यांक छ।

कम वर्षा हुने क्षेत्रमा, कम उर्वर भूमिमा, सिञ्चित र असिञ्चित दुबै अवस्थामा पनि कोदो खेती गर्न सकिन्छ।

तराईको हिलोमा रोपेको कोदो छिटो पाकेको र तीन टन प्रति हेक्टरसम्म फलेको रिपोर्ट पाइएको छ।

अन्य मुलुकमा भने कोदोजन्य बालीको उत्पादकत्व प्रतिहेक्टर ८ टन भएको पाइएको छ।

पचास वर्षअगाडि रैथाने बालीहरू प्रायः नेपालीहरूको खाद्य सुरक्षा तथा पोषणकै मुख्य आधार थियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.रामकृष्ण श्रेष्ठ हरितक्रान्ति–कृषिको आधुनिकीकरणको मोडलमा मुख्यतया धेरै फल्ने धान र गहुँ जस्ता बालीमा अत्यधिक रासायनिक मलको प्रयोग गरेर उत्पादन बढाउने, विषादीको प्रयोग गरी रोग कीरा मार्ने र ठूला मेसिन प्रयोग गरी लार्ज स्केल फार्मिङ गर्ने अवधारणा शुरु भएसँगै धान र गहुँको उत्पादन वृद्धि भएपनि कोदोलाई किसानहरूले नै साइड लगाएको बताउँछन्।

‘यसले गर्दा क्रमशः मान्छेहरूको आकर्षण र सरकारको नीति पनि धान, गहुँ र मकैमा केन्द्रित भयो।

बाटोघाटोको सुविधा र बजार केन्द्रको विकाससँगै भात र गहुँलाई बढी प्राथमिकता दिने खाने बानीको नयाँ सभ्यता गाउँगाउँसम्म पुग्यो’, उनले भने‚ ‘यससँगै रैथाने बालीहरू ओझेलमा पर्दै गए।’

पछिल्लो समय भने बढ्दो जलवायु प्रतिकूलता, मानव स्वास्थ्यमा देखिएका समस्याहरूसँगै कोदो जन्य बालीको बहुगुणबारे थाहा पाएर पुनः संसार रैथाने अन्नको उपभोगतर्फ फर्कन थालेका छन्।

नेपालमा कोदो, कागुनो, चिनो, धान‚ कोदो, जुनेलो, झुमरोरसामा, बाजरा, कुट्की‚ सामा र कोदी गरी ८ प्रजातिका कोदोजन्य बाली पाइन्छ।

जसमध्ये मुख्य रूपमा कोदो, कागुनो, चिनो र जुनेलोको खेती गरिन्छ भने अन्य प्रजाति लोप हुन थालेका छन्।

तराईदेखि समुद्री सतहबाट ३‚१०० मिटरसम्मका उच्च पहाडी क्षेत्रसम्म कोदो खेती गरिन्छ। तर, मागअनुसार आन्तरिक उत्पादन हुन सकेको छैन।

गत आर्थिक वर्ष (२०८१/८२) मा विभिन्न मुलुकबाट ७६ करोड ५९ लाख रुपैयाँ बराबरको कोदो आयात गरिएको छ भने ४ लाख ८५ हजारको कोदोको बीउ भित्रिएको छ।

आर्थिक वर्ष २०८०/८१ मा ७५ करोड ४१ लाख ९५ हजारको कोदो र २ लाख २८ हजार रुपैयाँ बराबरको कोदोको बीउ आयात गरिएको थियो।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा ७१ करोड, ९४ लाख २३ हजारको कोदो र १ करोड २५ लाख ९० हजारको कोदोको बीउ आयात गरिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा ६६ करोड २२ लाख ५९ हजारको कोदो र ३ करोड ९९ लाख २३ हजारको कोदोको बीउ आयात गरिएको थियो।

२०७७/७८ मा ७२ करोड ४ लाख १९ हजारको कोदो र ६ करोड ३३ लाख १९ हजारको कोदोको बीउ आयात भएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा ४७ करोड ६३ लाख ८१ हजारको कोदो र ७ करोड १५ लाख १७ हजार कोदोको बीउ आयात गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *