काठमाण्डू, यस वर्षको मनसुन सुरु भएको दुई महिनामा देशभर ५ सय ६८ वटा विपदका घटना भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरणअनुसार जेठ १५ देखि साउन १५ सम्मको अवधिमा मनसुनका कारण ४३ जनाले ज्यान गुमाएका छन् ।
१८ जना अझै बेपत्ता छन् भने १ सय १६ जना घाइते भएका छन् । विपदबाट २ हजार १ सय १२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले सबैभन्दा ठूलो धनजनको क्षति पुर्याएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटनाको संख्या केही घटेको छ । त्यस्तै, मानवीय र भौतिक क्षतिमा पनि केही कमी आएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले नागरिक सतर्कता, पूर्वसूचना प्रणाली, उद्धार संयन्त्र र स्थानीय तहको सक्रियताका कारण क्षति न्यूनीकरणमा टेवा पुगेको बताएको छ ।
मनसुन अझै सक्रिय रहेकाले सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
