वागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे मन्त्रिपरिषद् पुनर्गठन, लम्साल, गुरुङ र श्रेष्ठ मन्त्री नियुक्त

हेटौंडा, बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा नियुक्त पुनर्गठन, कार्यविभाजन गरिएको छ।

प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन, कार्यविभाजन गरेका हुन् ।

प्रदेश सभा सदस्य गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई बुधबार मन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त तीनै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । लम्साल धादिङ तथा गुरुङ र श्रेष्ठ चितवनका सांसद हुन् ।

लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने गरी नियुक्ति भएको बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।

प्रदेश सरकार नवनियुक्त मन्त्रीको शपथ ग्रहण समारोह बिहीबार दिउँसो १ बजे रहेको उनले बताए । लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतक थिए ।

मुख्यमन्त्री लामाले यसअघि चार जना मन्त्रीलाई पदमुक्त र मंगलबार एक मन्त्रीले राजीनामा दिएपछि पाँच वटा मन्त्रालय मन्त्रीबिहीन बनेको थियो।

संस्कृति तथा पर्यटन मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै लिने गरी कार्यविभाजन गरिएको छ।

१४ वटा मन्त्रालय रहेको बागमती प्रदेशमा छ वटा मन्त्रालय नेकपा एमालेको भागमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *