कैलाली, प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दालाई लिएर भइरहेको हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् ।
मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रास्वपाको अभियानप्रति व्यंग्य गर्दै भने, ‘म त डराइराखेको छु, हस्ताक्षर तीन करोडभन्दा माथि नजाओस् भनेर ।
दुई–चार जनाले सही गरे, घर–घर गएर दनादन हस्ताक्षर गराउँदै हिँड्ने ।’
अदालतको आदेशअनुसार लामिछानेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले सरकारको संलग्नता अस्वीकार गरे । ‘
विभिन्न अपराध गर्यो, अनि सरकारलाई गाली गर्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार अदालत होइन ।
अदालतले थुन्छ कि छोड्छ, त्यो सरकारको हातमा हुँदैन ।’
लामिछानेको नाम नलिइकनै ओलीले उनीसँग आफ्नो राजनीतिक सम्बन्धको प्रसंग पनि जोडेर भने, ‘उपप्रधानमन्त्री, गृहमन्त्री मैले नै बनाएको हो ।
राजनीतिमा ल्याउने काम पनि मैले नै गरेको हो । अब केको प्रतिशोध ? किन साँध्नु पर्यो ? ’
नयाँ राजनीतिक दलहरू लोकतन्त्रको मूल्य र मर्म नबुझी सामाजिक सञ्जालमा आक्रोश पोख्ने प्रवृत्तिप्रति पनि उनले आलोचना गरे । ‘
अरूले लडेर ल्याएको, निर्वासन बसेर, जेल नेल भोगेर ल्याएको लोकतन्त्रमा आज कतिपय ‘तरमाराहरू’ हाबी छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘स्ट्याटस लेख्न पाए पुग्ने, गाली गर्न पाए पुग्ने संस्कृति फैलिएको छ ।
सामाजिक सभ्यता, मर्यादा, संस्कृतिमाथि हमला भइरहेको छ । भ्रम र झूट फिँजाएर राजनीति गर्न पाइन्छ भन्ने सोच गलत हो ।’
प्रधानमन्त्री ओलीको टिप्पणी रवि लामिछानेविरुद्ध अदालतमा विचाराधीन ठगी मुद्दा र त्यसपछिको रास्वपाको प्रतिवादस्वरूप चलिरहेको हस्ताक्षर संकलन अभियानसँग प्रत्यक्ष जोडिएको देखिन्छ ।
सरकार र अदालतको छुट्टै भूमिका रहे पनि रास्वपा नेताहरूले यस मुद्दालाई ‘राजनीतिक प्रतिशोध’को रूपमा व्याख्या गरिरहेका छन् ।
