काठमाण्डू, मुलुकको शान्ति सुरक्षाजस्तो संवेदनशील जिम्मेवारी बोकिरहेको नेपाल प्रहरीभित्रै गम्भीर अनुशासनहीनता, गैरकानूनी गतिविधिमा संलग्नता र आन्तरिक असन्तोष गहिरिँदै गएको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा मात्र ३ हजार ७ सय ५३ वटा प्रहरीविरुद्ध उजुरी दर्ता भएका छन् भने २ हजार ७३ प्रहरी कर्मचारी अनुशासनको कारबाहीमा परेका छन् ।
सोही अवधिमा प्रहरी संगठन छाड्ने (राजीनामा दिने) कर्मचारीको संख्या पनि उच्च विन्दूमा पुगेको छ । २ हजार ३ सय ७९ जनाले राजीनामा दिएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार उजुरीहरू ‘ई–कम्प्लेन’, ‘हेलो सरकार’, गृह मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, राष्ट्रिय सतर्कता केन्द्र, हुलाकमार्फत् र व्यक्तिगत रूपमा दर्ता भएका छन् ।
सबैभन्दा बढी उजुरी ‘हेलो सरकार’ मार्फत आएको छ । हेलो सरकारमार्फत १ हजार ९ सय ६ वटा उजुरी परेका छन् ।
डीआईजी घिमिरेका अनुसार उजुरीमध्ये ८१ प्रतिशत उजुरीको पछ्र्यौट गरिएको छ भने करिब ७ सय उजुरी हाल छानबिनको क्रममा छन् ।
यसले प्रहरी संगठनप्रति नागरिकको विश्वास घट्दै गएको र प्रहरीको आन्तरिक निगरानी संयन्त्र पर्याप्त प्रभावकारी हुन नसकेको संकेत दिन्छ ।
एकै आर्थिक वर्षमा २ हजार ७३ प्रहरी कर्मचारी अनुशासन उल्लंघनका कारण कारबाहीमा पर्नु आफैंमा गम्भीर संकेत हो ।
तल्लो तहदेखि उच्च तहसम्म प्रहरी जिम्मेवारहरू संलग्न भेटिएका छन् ।
यसरी कारबाहीमा पर्नेमा प्रहरी जवान ९२४, सहायक हवल्दार ४२०, हवल्दार ३४५, वरिष्ठ हवल्दार ६०, प्रहरी सहायक निरीक्षक १७३, प्रहरी नायब निरीक्षक ६९, प्रहरी वरिष्ठ नायब निरीक्षक ९, प्रहरी निरीक्षक ३०, प्रहरी नायब उपरीक्षक ३, प्रहरी वरिष्ठ उपरीक्षक १ र कार्यालय सहयोगी ३९ जना रहेका छन् ।
यो विवरणले प्रहरी संगठनको नेतृत्व तहदेखि सिपाही तहसम्मको अनुशासनात्मक चरित्र र आन्तरिक शुद्धताको अवस्थाका बारेमा उजागर गरेको छ ।
प्रहरी संगठनभित्र राजीनामा दिनेहरूको संख्या पनि बढेको छ । प्रहरीको तथ्यांकअनुसार २०८१्र८२ मा मात्रै २ हजार ३ सय ७९ जना प्रहरी कर्मचारीले स्वैच्छिक रूपमा राजीनामा दिएका छन् ।
यसमा प्रमुख रूपमा तल्लो तहका जवान र हवल्दारहरू बढी छन् । कारणहरूमा असमान बढुवा प्रणाली, राजनीतिक हस्तक्षेप, बढ्दो मानसिक दबाब, अपारदर्शी स्थानान्तरण, अपहेलना भाव र नेतृत्वप्रतिको असन्तुष्टि प्रमुख कारण रहेका छन् ।
पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीका अनुसार नेपाल प्रहरीभित्रको मनोबल गिरावट, अस्थिरता र राजनीतिक पहुँचको प्रभावले गर्दा इमानदार प्रहरीको मनोविज्ञान भत्किएको छ ।
समाजशास्त्री डा। नवराज अधिकारीका अनुसार सुरक्षा निकायमाथिको जनविश्वास गुम्दा समग्र लोकतान्त्रिक प्रणालीमाथि नै असर पर्छ ।
प्रहरी नागरिकको सेवा संस्था हो भन्ने चेतना नहुँदा यसले भय पैदा गर्छ, सुरक्षा होइन । नेपाल प्रहरीको २०८१्र८२ को तथ्यांकले प्रहरी संगठनभित्र सुधारको आवश्यकता घनिभूत भएको देखाउँछ ।
अब ढिलाइ नगरी प्रहरीभित्रको नेतृत्व संरचना, अनुशासन संयन्त्र, समावेशी व्यवस्था, पारदर्शिता र मनोबल अभिवृद्धिका सवालमा आमूल सुधार नगरेसम्म ‘जनतासँग नजिक, अपराधीसँग टाढा’ भन्ने नारामात्रै बोकेर प्रहरीले जनविश्वास कायम राख्न सक्दैन ।
