काठमाडौं, पछिल्लो ५ महिनामा नेपालबाट अध्ययन र भ्रमण गर्न जानेले एक खर्ब भन्दा बढी रुपैयाँ बिदेशमा खर्च गरेका छन् ।
पछिल्लो पाँच महिनामा मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा खरबौं रुपैया बाहिरिएको छ ।
पछिल्लो ५ महिनामा बाहिरिएको रकम गतवर्ष भन्दा ३९ अर्बले बढी हो । अघिल्लो वर्ष यही अवधिमा ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो ।
श्रम तथा अध्ययनका लागि बिदेसिनेको संख्या बढ्न थालेपछि मुलुकबाट बाहिरिने रकम पनि बढ्न थालेको छ ।
साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपियाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपियाँ बाहिरिएको थियो ।
अध्ययन र भ्रमणका लागि नेपालबाट पछिल्लो ५ महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो ।
यस अवधिमा नेपालले ६२ अर्ब रुपियाँको मात्र निर्यात गरेको थियो । त्यस्तै विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी हो ।
यो ५ महिनामा नेपालले पर्यटकको भ्रमणबाट ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी गरेको छ जुन नेपालीले भ्रमणबापत खर्च गरेको रकमको तुलनामा करिब ४२ अर्ब रुपियाँले कम हो ।