माघे संक्रान्तिदेखि मेलम्चीको पानी उपत्यकावासीका धारामा

काठमाडौं, मेलम्चीको पानी काठमाडौं उपत्यकावासीले माघ १ गतेदेखि पुनः पाउने भएका छन् ।

वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको हो ।

मेलम्चीको पानी पुनर्वितरणको प्रधानमन्त्री पुस्पकमल दाहालले शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले पानी पुनर्वितरणको शुभारम्भ गरेपछि घरघरका धारामा मेलम्ची पानी पुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

पहिलो दिन अनामनगर र मिनभवन केन्द्रबाट पानी वितरण सुरु हुने छ । त्यसपछि क्रमशः खुमलटार, महाँकाल चौर, कीर्तिपुर, बोडे, कटुन्जे, बालाजु, बाँसबारी केन्द्रबाट पनि पानी वितरण सुरु गरिने आयोजनाले जनाएको छ ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको थियो ।

मनसुन सुरु हुनुअघि नै मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं नल्याइएपछि खानेपानीको अभाव झेल्दै आएका उपत्यकावासी प्रदर्शनमा उत्रिएका थिए ।

त्यसपछि ३ पुसमा बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले पानी पथान्तरणको काम २८ दिनभित्र सम्पन्न गरी उपत्यकाका घर(घरमा पानी पुर्याउने निर्णय गरेको थियो ।

त्यसका लागि ४ पुसदेखि दुई सिफ्टमा जनशक्ति परिचालन गरी पथान्तरणको काम सुरु गरिएको थियो ।

पथान्तरणको काम पुस २७ गते नै सकेर सुरुङमा पानी हालिएको थियो । केही दिन पानी बगाएर सुरुङ सफा गरेपछि उपत्यकावासीका धारामा पानी वितरण सुरु गर्न लागिएको हो ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि अर्थात् २०७७ साल फागुन २२ गते तात्कालीन प्रधानमन्त्री केपी ओलीले फ्लसिङ टनेलको हाइड्रोमेकानिकल गेटको बटन थिचेर मेलम्चीको सुन्दरीजलमा मेलम्चीको पानी प्रवाहको उदघाटन गरेका थिए ।

त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो ।

तात्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गरेकी थिइन् ।

तर, पानी वितरण अघि गर्नुपर्ने थुप्रै काम बाँकी भएकाले धारामा पानी आउन केही दिनमै बन्द भएको थियो ।

सोही वर्षको जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुर्याएपछि पानी वितरण पूर्णरुपमा बन्द भएको थियो ।

त्यसको मर्मत गरी २०७९ मंसिर २३ गते तात्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरीले पुनः महाँकाल केन्द्रबाट मेलम्चीको पानी वितरण शुभारम्भ गरेका थिए ।

प्रधानमन्त्री पुस्पकमल दाहालले माघ १ गते चौथो पटक मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नेछन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयूकेएल) बाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकाका घर/घरमा पुनः वितरण हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *