काठमाण्डू, आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
२०३९ साउन ६ गते निधन भएका कोइरालाले नेपाली लोकतन्त्रका लागि जेल, निर्वासन र निरन्तर संघर्षको बाटो रोजे ।
कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । वि.सं २०१५ को संसदीय निर्वाचनपछि २०१६ साल जेठमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालालाई राजा महेन्द्रले २०१७ सालमा अपदस्त गरेर सुन्दरीजलस्थित सेनाको बन्दीगृहमा थुने ।
यहीँ उनले आफ्नो जीवनको ९ वर्ष बिताए । उनी संँगै तात्कालीन प्रजातन्त्रका सेनानीहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ, शिवराज पन्त, प्रेमराज आङदम्बे र सूर्यप्रसाद उपाध्याय पनि यहीँ थुनिए ।
बीपी कैद जीवनकै बीच साहित्यिक सिर्जनामा पनि लागिरहे । ‘दोषी चस्मा’ बाहेकका सबै कृति उनले यहीँ बन्दीगृहमा लेखेका थिए ।
पछि भारत निर्वासनमा पुगेका उनले नेपाली साहित्य र राजनीतिमा अमिट छाप छाडे । आज यहीँ बन्दीगृह ‘बीपी संग्राहलय’ बनेको छ ।
जहाँ बन्दी हुँदा बीपीले प्रयोग गरेका सामान, नेपाली कांग्रेसले २०३० सालमा अपहरण गरेको विमान, काङ्ग्रेसले सशस्त्र संघर्ष गर्दा प्रयोग गरेको ट्यांक र हतियार अनि बीपीले चढ्ने निजी मोटरलगायतका ऐतिहासिक सामग्री राखिएको छ ।
