काठमाण्डू, बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ ।
खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।
त्यस्तै बंगलादेशले पनि श्रीलंकामाथि ९-१ को फराकिलो जीत निकालेको थियो ।
नेपालले बंगलादेशलाई हराएर अघिल्लो संस्करणको फाइनल हारको समेत बदला लिँदै दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ ।
पछिल्लो समय बंगलादेशले सिनियरदेखि उमेर समूहमा उल्लेख्य प्रगति गर्दै आएको छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले प्रतियोगिताअघि प्रेस मिटमा उपाधिको लक्ष्यसहित मैदान उत्रिने बताएका थिए ।
गुरुङले दुई वर्षअघि नेपालले बंगलादेशसँग फाइनलमा गुमाएको उपाधि सम्झिँदै यसपटक नतिजा उल्टाउने अवसर रहेको बताए।
प्रतियोगितामा नेपाल र बंगलादेशले समान ३ अंक जोडेपनि गोल अन्तरमा बंगलादेश अघि छ ।
चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
