एजेन्सी, गत जुन १२ मा भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ ।
बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको मृत्यु भएको थियो ।
१५ पृष्ठको रिपोर्टअनुसार विमानको डेटा रेकर्डरको जाँच गर्दा उडानको केही सेकेन्ड पछि दुवै इन्जिनले काम गर्न बन्द गरेको पाइएको छ, किनकि इन्धन आपूर्ति बन्द भएको थियो ।
र्याम एअर टर्बाइन(RAT) बाट विमानमा बिजुली आपूर्ति अवरुद्ध भएको संकेत देखिएको थियो, जुन सीसीटीभीले खुलासा गरेको थियो ।
रिपोर्टअनुसार पाइलटहरूले इन्जिनहरू पुनस् सुरु गर्ने प्रयास गरे । एउटा इन्जिन केही समय चल्यो, तर अर्को सुरु हुन सकेन ।
३२ सेकेन्ड मात्रै विमान हावामा रह्यो । विमानको थ्रस्ट लिभरहरू पनि निष्क्रिय स्थितिमा थिए, जसले तिनीहरूको खराबीलाई संकेत गर्दछ । इन्धनमा कुनै मिसावट नभेटिए पाइएको छ ।
रिपोर्टअनुसार विमानको फ्ल्याप सेटिङ ५ डिग्री थियो र गियर तल थियो, जुन उडानको लागि सही स्थिति हो । विमानको तौल तोकिएको सीमाभित्र थियो र बोर्डमा कुनै खतरनाक पदार्थ थिएन ।
रिपोर्टअनुसार विमानमा चरा ठोक्किएको संकेत गर्ने कुनै प्रमाण फेला परेको छैन । मौसम सफा थियो र हावा हल्का चलिरहेको थियो । दुवै पाइलट स्वस्थ थिए र उनीहरूसँग पर्याप्त उडान अनुभव थियो ।
इन्धन नियन्त्रण स्विच कसरी बन्द भयो ?
ककपिटको भ्वाइस रेकर्डिङमा एक पाइलटले भनिरहेको सुनिन्छ – तपाईंले किन स्विच बन्द गर्नुभयो रु अर्को पाइलट भन्छन् – मैले बन्द गरेको छैन । यस्तो अवस्थामा ठूलो प्रश्न यो हो कि इन्धन नियन्त्रण स्विच कसरी बन्द भयो ?
ककपिटमा रहेको इन्धन नियन्त्रण स्विच मार्फत इन्जिनहरूमा इन्धन आपूर्ति गरिन्छ वा बन्द गरिन्छ । यदि दुवै स्विचहरू एकैसाथ ‘कट/अफ’ भए इन्जिनहरू बन्द हुन्छन् ।
विमानको इन्जिन ‘कट/अफ’ हुनुको अर्थ इन्जिनमा इन्धनको आपूर्ति लगभग तत्कालै बन्द गर्नु हो ।
सामान्यतया यो प्रक्रिया विमान गन्तव्यमा पुगेपछि इन्जिनहरू बन्द गर्दा प्रयोग गरिन्छ ।
आपत्कालीन अवस्थामा पनि यस्तो हुन सक्छ, तर प्रारम्भिक प्रतिवेदनले विमानमा कुनै त्यस्तो आपत्कालीन घटना भएको सङ्केत गरेको छैन ।
रिपोर्टअनुसार ‘कट/अफ’ मा गएपछि पनि इन्जिन १ को कोर डिएक्सेलेरेशन रोकियो, उल्टियो र रिकभरीको लागि अघि बढ्न थाल्यो ।
यस्तै, इन्जिन २ भने पुनः चल्न सफल भएपनि ‘कोर स्पिड डिएक्सेलेरेशन रोक्न सकेन’ ।
इन्जिन कट/अफ भएपछि विमानले आफ्नो थ्रस्ट गुमाउन थाल्यो र तल झर्दै अहमदाबादको घना आवादी भएको आवासीय क्षेत्रमा खस्यो ।
