काठमाडौं, दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त रहेको नेपालको यू–१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ ।
विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी) ले व्यवस्थापनमा हुन लागेको वाम अप प्रतिस्पर्धामा नेपालले आज स्कटल्याण्डको सामना गर्न लागेको हो ।
नेपाली समय अनुसार नेपालको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले अर्को ‘वाम अप’ माघ २ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ ।
नेपाल यू–१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।
नेपालले माघ ७ गते न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्दै विश्वकपको सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ ।
सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको हो ।
समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड छन् भने समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।
समूहका शीर्ष दुई देश विश्वकपको सुपर आठमा पुग्नेछन् ।
जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म चल्ने यु–१९ विश्वकप क्रिकेटमा सहभागी हुन जगत टमटा प्रशिक्षक र देव खनाल कप्तान रहेको नेपाली टिम एक साताअघि दक्षिण अफ्रिका पुगेको हो ।
यू–१९ टिममा राष्ट्रिय टिमका अल्राउन्डर गुल्सन झालेसमेत सहभागी छन् ।
यू–१९ विश्वकप : नेपाली टिम
देव खनाल ( कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, उत्तम थापामगर, विपिन रावल, दिपक बोहोरा, तिलकराज भण्डारी र आकाश चन्द ।