हेटौंडा, हेटौंडास्थित पूर्व–पश्चिम राजमार्गको राप्ती खोलामा रहेको २ सय १० मिटर लम्बाइको पुल मर्मतको अभावमा जोखिमपूर्ण बन्दै गएको छ।
४३ वर्षअघि निर्माण गरिएको सात पिलरयुक्त पुलका अधिकांश पिलरको सिमेन्ट भत्किएर भित्रका फलाम देखिन थालेका छन्।
सडक डिभिजन कार्यालयका अनुसार पिलरको अवस्था अध्ययन गरी सिमेन्टको ज्याकेटिङमार्फत मर्मतको तयारी भइरहेको छ।
हेटौंडा–१० र ११ वडाबीच रहेको यो पुल भएर दैनिक १० हजारभन्दा बढी सवारी साधन सञ्चालन हुन्छ। पुल मर्मत बेलैमा नगरे थप क्षति हुने स्थानीयको भनाइ छ।