नेपाल एसिसी यु–१६ कप फाइनलमा

काठमाण्डू, साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो ।

जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाए । शिवान्श बजगाईंले अविजित २३ रनको योगदान गरे ।

ओपनरका प्रसिद्ध जैसी दुई रनमा आउट भए । बलिङमा मलेसियाका नागिनिश्वरमले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सवै विकेटको क्षतिमा ९० रन बनाएको थियो ।

मलेसियाका लागि मोहम्द फतुल मुइनले सर्वाधिक ३८ रन बनाए । यस्तै कप्तान डियाज प्याट्रोले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा नेपालका अभय यादवले चार विकेट लिए भने शुभम खनालले तीन ताथ सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिए ।

फाइनलमा नेपालले असार २१ गते हङकङ र सिङ्गापुरबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

एसिएन क्रिकेट काउन्सिलको आयोजनामा सञ्चालित प्रतियोगितामा १० देशले भाग लिएका थिए । सहभागी देशलाई दुई समूहमा विभाजन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *