काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएको र खेल क्षेत्रका पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिएको भन्दै खेलाडीहरूका निम्ति यो सुखद् कुरा भएको बताए ।
सम्बोधनमा प्रधानमन्त्री दाहालले भने , ‘‘मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको कुरा तपाईहरूले महशुस गर्नुभएकै होला ।
देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ ।’’

प्रधानमन्त्री दाहालले भने , ‘‘मेरै पहलमा नेपाल सरकारको गत कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट मूलपानी मैदान ९तल्लो०, मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको छ ।
अब ती रङ्गशालाहरूको निर्माण कार्य द्रुत गतिमा अगाडि बढ्नेछ । नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो हो ।’’
आजको युगमा खेलकुदको बहुआयमिक महत्व भएकोमा प्रधानमन्त्री दाहालले जोड दिदैं त्यसका निम्ति सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए ।

उनले भने , ‘‘आजको दुनियाँमा खेलकुदको महत्त्व बहुआयमिक छ । हाम्रोजस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्त्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्व रहन्छ ।
विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्दछन् ।’’
प्रधानमन्त्री दाहालले गरेको सम्बोधनको पूर्णपाठ
सर्वप्रथम नेपाल वादोरियो कराते डो संघको आयोजनामा सुरू भएको ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को भव्य सफलताको शुभकामना व्यक्त गर्दै आयोजक साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु ।
साथै, उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी प्रतियोगिता अवलोकन गर्ने र मेरा विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछु ।
मैले बुझेसम्म नेपाली करातेमा मुख्यतः चार विधा हुन्छन्, वादोरियो, सितेरियो, सोतोकान र गोजुरियो । त्यसमध्ये वादोरियो निकै सक्रिय विधामा पर्दछ ।
नेपाल वादोरियो कराते डो संघले हरेक वर्ष राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता, रेफ्री सेमिनार, रिफ्रेसर कोर्स जस्ता महत्वपूर्ण र अनिवार्य गतिविधि नियमित रूपमा गर्दै आएको मैले जानकारी पाएको छु ।
वादोरियोका हजारौं खेलाडीहरू अहिले पनि देशभरि प्रशिक्षणरत हुनुहुन्छ । त्यसअनुरूप वादोरियोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राम्रो सफलता हासिल गर्दै आएको छ । यसका निम्ति तपाईहरू बधाइका पात्र हुनुहुन्छ ।
वादोरियोले भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बङ्गलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता ९एसियाड० लगायत विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरू राम्रो नजिता हात पारेका छन्, महत्त्वपूर्ण पदकहरू जितेका छन् ।
त्यसैगरि नेपालले ९ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना गरिसकेको छ । यो हाम्रा निम्ति खुसी र गौरवको विषय पनि हो ।
देशभरिका खेलाडीहरूलाई समेटेर अन्तर्राष्ट्रिय गतिविधि गर्नेमध्ये वादोरियो संघ देखिएको छ ।
मैले यसअघि पनि चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन गरी खेलाडी साथीहरूलाई हौसला प्रदान गर्ने काम गरेको छु । मैले भन्दै आएको छु– नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो ।
देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरू छन् । तर, त्यसमध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र खेलकुद नै हो ।
पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले पनि मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु ।
मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको कुरा तपाईहरूले महशुस गर्नुभएकै होला ।
देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ ।
मेरै पहलमा नेपाल सरकारको गत कार्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट मूलपानी मैदान ९तल्लो०, मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको छ । अब ती रङ्गशालाहरूको निर्माण कार्य द्रुत गतिमा अगाडि बढ्नेछ ।
नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो हो ।
मैले प्रष्ट रूपमा भन्दै आएको छु– अब खेल क्षेत्र शारीरिक र मानसिक स्वास्थ्यमा मात्रै सीमित रहेन । आजको दुनियाँमा खेलकुदको महत्त्व बहुआयमिक छ ।
हाम्रोजस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्त्व रहन्छ ।
विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्दछन् ।
यस अर्थमा खेल क्षेत्रको विकासलाई केवल युवाहरूको मुद्दा होइन, राष्ट्रको बहुआयमिक र बहृत्तर हितको मुद्दाका रूपमा हेर्नु र बुझ्नुपर्दछ ।
यस राष्ट्रिय प्रतियोगिताले समेत नेपालको खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु । कराते खेलको विकासमा अनवरत रूपमा क्रियाशील भइरहनु पक्कै पनि सजिलो विषय होइन ।
तर, संघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा तपाईहरूले जसरी नियमित रूपमा रचनात्मक गतिविधि गरिरहनुभएको छ, त्यो कुरा सम्पूर्ण खेलप्रेमी युवाहरूका साथै हामीजस्ता नीतिनिर्माताहरूका निम्तिसमेत प्रेरणादायी छ ।
तसर्थ, आगामी दिनमा समेत यस्ता गतिविधिहरूले थप उचाइ र रचनात्मक भूमिकाका साथ निरन्तरता पाउनेछन् भन्ने मेरो विश्वास छ ।
अन्त्यमा, प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूमा विजय र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताको भव्य सफलताको कामनासहित विदा हुन्छु ।
धन्यवाद ।