काठमाण्डू, माध्यमिक शिक्षा परीक्षा (एसईई( २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
उनले नतिजाका विषयमा छलफल गर्न बोर्डको बैठक आज बस्ने भएपनि बैठकको समय भने निर्धारण भइनसकेको बताए ।
उनले भने ‘एसईई नतिजाको अन्तिम चरणमा छौँ। तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन। त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ, सम्भवतः बोर्डको बैठक आज बस्छ।’
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
विद्यार्थी र अभिभावकहरू नतिजाको व्यग्र प्रतीक्षामा छन्। बोर्डको आजको बैठकले नतिजा प्रकाशनको मिति र अन्य आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।
