काठमाण्डू, अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल–खावा सडक खण्डको स्तरोन्नति कार्य अलपत्र पर्दा वर्षायाममा यात्रु तथा सवारी चालकले सास्ती भोग्न बाध्य भएका छन्।
करिब चार वर्षदेखि निर्माणमा ढिलाइ भइरहेको यस सडक खण्डको ठेक्का डिभिजन सडक कार्यालय, भक्तपुरले रद्द गरिसकेको छ।
कार्यालयका अनुसार स्रोत सुनिश्चित भएपनि नयाँ ठेक्कामार्फत निर्माण कार्य सुरु हुन अझै केही महिना लाग्ने छ।
धुलिखेलदेखि खावासम्मको २० करोड १९ लाख ४६ हजार रुपैयाँको ठेक्का गौरी–पार्वती निर्माण सेवा नामक कम्पनीले २०७९ जेठ २० गते लिएको थियो।
२२ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ठेकेदारको लापरबाहीले समयावधि सकिएको ११ महिना बित्दा समेत जम्मा २५ प्रतिशत काम मात्र सम्पन्न भएको थियो।
सम्झौता अनुसारको म्याद सकिएपछि गत वर्ष फागुन १५ गते डिभिजन कार्यालयले ठेक्का रद्द गरेको थियो।
तर, ठेकेदार कम्पनीले उच्च अदालत पाटनमा मुद्दा हालेपछि अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा नराख्ने, धरौटी रकम जफत नगर्ने र सडकलाई यथास्थितिमा राख्ने आदेश दिएको छ।
यसकै कारण सडक निर्माणको कार्य पूर्णरूपमा रोकिएको हो।
हाल डिभिजन कार्यालयले यात्रु र सवारी साधनलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने अस्थायी काम गरिरहेको छ।
नयाँ ठेकेदार छनोट प्रक्रिया अघि बढाइए पनि निर्माण कार्य पुनः सुरु हुन केही समय लाग्ने जनाइएको छ।
