लेखा अधिकृतसहित तिन जनाविरुद्ध २५ लाखको भ्रष्टाचार मुद्दा

काठमाण्डू, प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैठौं) शंकरप्रसाद सुवेदीसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैँकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आफ्नो जिम्मामा रहेको सार्वजनिक संस्थाको सम्पत्ति हानि नोक्सानी तथा दुरुपयोग गर्ने बदनियत राखी रकम हिनामिना गरेको देखिएको छ ।

उहाँका अनुसार प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८० साउन १ गते देखि २०८१ साउन ३२ सम्मको अवधिमा सङ्कलन भएको राजस्व रकम ३४ लाख तिन हजार ८५६ रुपियाँमध्ये आठ लाख ३६ हजार ३३० रुपियाँ रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी २५ लाख ६७ हजार ५२६ रुपियाँ रकम हिनामिना गरे गराएको देखिएको छ ।

आयोगका अनुसार, लेखा अधिकृत सुवेदी र तृप्ति शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, प्रदेश अस्पताल, सुर्खेतस्थित रहेको कुमारी बैँकको एकस्टेन्सन काउन्टरको तात्कालीन ईन्चार्ज गोमा सिंजाली भन्ने गोमा सिंजाली मगरविरुद्ध २४ लाख दुई हजार ९० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण् ऐन, २०५९ को दफा १७ बमोजिम उनीहरूविरुद्ध बिगो असुल हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *