काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन् ।
आज संसदीय समितिको बैठकमा भारतसँग भएको सम्झौताबारे जानकारी दिने क्रममा प्रधानमन्त्री दाहालले सो जानकारी दिएका हुन् ।
चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको उनले जानकारी दिए ।
आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको जानकारी दाहालले दिए ।
उनले यो विषयमा भारत सकारात्मक हुने र समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो ।
त्यस सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकर यही पुस १९ गते नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरुबीच समझदारी भएको थियो ।
यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको प्रधानमन्त्री दाहालले बताए ।