प्रधानमन्त्री ओेलीले गरे गौरादह नगर अस्पतालको शिलान्यास

झापा, प्रधानमन्त्री केपी ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन् ।

नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताए ।

प्रधानमन्त्री ओलीले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए ।

मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्री ओलीले आग्रह गरे ।

दुई बिघामा १२ करोड ५९ लाख ७९ हजार ४९६ को लागतमा २०८३ साल माघ १४ भित्र बन्नेगरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकामा जग्गाप्राप्तिमा विलम्ब भएका कारण गौरादहमा अस्पताल भवन निर्माण सुरु हुन सकेको थिएन ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की उपस्थित थिए ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *