चारदेशीय टि-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै

काठमाण्डू, चारदेशीय टि-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ ।

हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल सुरु हुनेछ ।

अहिलेसम्म अपराजित रहेको नेपाल प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा ८ विकेटले कतारलाई हराएको थियो । दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

दुई खेलमा ४ अंकका साथ नेपाल तालिकाको शीर्ष स्थानमा छ । हङकङ र कुवेतले २र२ अंक हात पारेका छन् ।

जितविहीन कतारको शून्य अंक छ ।

तालिकाको शीर्ष टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । दुवै खेल आइतबार नै हुनेछ ।

यस्तो छ हेड टु हेड

हङकङसँग नेपालको विगत हेर्ने भने निकै प्रतिस्पर्धात्मक देखिन्छ ।

हालसम्म यी दुई टिमले ११ टि-२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपाल र हङकङले पाँचरपाँच खेल जितेको इतिहास छ ।

यी दुई टोलीबीचको एक खेल भने नतिजाविहीन बनेको छ । शनिबार नेपाल र हङकङ हेड टु हेड रेकर्डमा सुधार गर्ने लक्ष्यमा पनि हुने छन् ।

पछिल्लो पाँच भेटमा दुवै टिमले दुईरदुई खेल जितेका छन्, एक खेल भने वर्षाले प्रभावित भयो ।

अन्तिमपटक नेपाल र हङकङको भेट गत वर्षको २० अप्रिलमा भएको थियो ।

उक्त एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग नेपाल चार विकेटले स्तब्ध भयो ।

त्यो हारले नेपालको एसिया कप यात्रामा धक्का लाग्यो । यसपटक एसिसीले प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्ने टिमलाई पनि एसिया कप खेल्न दिने नियम बनाएको छ ।

नेपाल अब प्रिमियर कपमा बेहोरेको हारको बदला आज लिने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *