देशभर आंशिक बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डू, हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान देशभर आंशिक बदलीको अवस्था रहँदा कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

दिउँसो कोशीसहित पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अन्य भू-भागमा पनि छिटपुट वर्षाको सम्भावना छ ।

शुक्रबार राति सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षा हुन सक्ने र काठमाडौं उपत्यकामा पनि अपरान्ह हल्का वर्षा सम्भावित रहेको जनाइएको छ।

भारतबाट आएको जलवाष्पयुक्त हावा कमजोर बन्दै गएकोले शुक्रबारको तुलनामा शनिबार अझै कम पानी पर्ने अनुमान छ ।

वर्षाका कारण काठमाडौंको वायुप्रदूषण केही घटेको छ । शुक्रबार बिहान ५ः४५ बजे मापन गर्दा वायु गुणस्तर सूचकांक १२३ रहेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *