एमाले साँसद भट्टचन सञ्चालक रहेको प्रभु समूहको सहकारीबाट ४ हजार सहकारीको ६ अर्ब हरायो

काठमाण्डू, प्रभु म्यानेजमेन्ट कम्पनीले करिब चार हजार सहकारीको धरौटी रकम र रेमिट्यान्स भुक्तानी बापतको ६ अर्ब रकम भुक्तानी नगरेको पाइएको छ ।

रेमिट्यान्स सेवा पनि बन्द गर्ने र रकम पनि भुक्तानी नगरेपछि सहकारी संस्थाहरु रकम भुक्तानीका लागि आग्रह गर्दै विभिन्न निकाय धाउन थालेका छन् ।

प्रभु समूहका संस्थापक अध्यक्ष एवम् एमाले सांसदसमेत रहेका देवीप्रकाश भट्टचनले रेमिट्यान्स भुक्तानी बापतको रकम र धरौटी रकम दुरुपयोग गरेको आरोप छ ।

प्रभु म्यानेजमेन्ट कम्पनी मार्फत करिब ४ हजार बचत तथा ऋण सहकारी संस्थाको रेमिट्यान्स भुक्तानी र धरौटी रकम समेत अपचलन गरेको पाइएको हो ।

प्रभु म्यानेजम्यान्ट कम्पनी प्रभु मनी ट्रान्सफर कम्पनीको सुपर एजेण्ट हो । प्रभु म्यानेजमेन्टले मुलुकभरका तीन हजार भन्दा बढी सहकारीलाई सब एजेण्ट बनाएको छ ।

सब एजेण्ट बनाए बापत कम्पनीले प्रति सहकारी एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म धरौटी लिएको पाइएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकानरी दिएका छन् ।

कम्पनीले सहकारीहरुले सेवाग्राहीलाई भुक्तानी गरेको रेमिट्यान्स रकम फरफारक पनि गरेको छैन् ।

भुक्तानी नपाएका सहकारीहरुले संघ, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रिय अनुसन्धान व्यूरोमा समेत उजुरी दिएका छन् ।

कम्पनीले मुलुकभरका ७ हजार सहकारीलाई सब एजेण्ट बनाएको छ । कम्पनीले २०८१ जेठ सम्ममा चार हजार ५६९ सहकारीबाट धरौटी रकम जम्मा गरेको छ ।

जसमध्ये तीन हजार भन्दा बढी सहकारीले ९७ करोड ३७ लाख रुपैयाँ रकम फिर्ता पाएका छैनन् ।

प्रभु म्यानेजमेन्टबाट सहकारीहरुको अर्बो रकम ठगेपछि प्रभु समूहका भट्टचन कम्पनीबाट बाहिरिएका छन् ।

भट्टचनले आफनो नामको शेयर पहिलो चरणमा आफनो भतिज मिजाज भट्टचनलाई हस्तान्तरण गरेर आफू कम्पनीबाट बाहिरिए ।

२०७४ जेठ ११ मा भतिजको नामबाट पनि शेयर आफनै छोरी शिक्षा भट्टचन र आफना विश्वासपात्र धुब्रचन्द्र धितालको नाममा सारे ।

२०७७ सालमा फेरी कम्पनीकै कर्मचारीको नाममा शेयर हस्तान्तरण गरी उनी कानूनी रुपमा कम्पनीबाट सहजै बाहिरिए ।

प्रभु म्यानेजमेन्टबाट बाहिरिएपछि अहिले उनीहरुले प्रभु पेमेन्ट नामक अर्को कम्पनी खोलेका छन् ।

एउटै खालको उद्धेश्य राखेर नयाँ कम्पनी खोलिएको छ । कम्पनीमा मिजाज भट्टचन, दुर्गादत्त जोशी र धुव्रचन्द्र धितालको लगानी रहेको छ ।

प्रभु म्यानेजमेन्टकी अध्यक्ष समेत रहेकी कुसुम लामाले भट्टचन र प्रभु मनि ट्रान्सफरले सहकारीको अपचलन गरेको भन्दै भट्टचनको विरुद्धमा नेपाल राष्ट्र बैंक र काठमाडौ महानगरीय प्रहरीमा पनि उजुरी दिएकी छिन् ।

तर, राजनीतिक शक्तिको आडमा उनलाई कुनै पनि कारवाही नभएको उनले दाबी गरेकी छिन् ।

प्रभु समूहका संस्थापक अध्यक्ष एवम् एमाले सांसद भट्टचनले भने कुसुम लामाले झुठो आरोप लगाएको बताएका छन् ।

आफुले २०७१ मा नै प्रभु म्यानेजमेन्ट छोडी सकेकोले कम्पनीको दायित्वमा आफनो कुनै हात नभएको उनको भनाई छ । ‘

प्रभु म्यानेजमेन्टले धरौटी र रेमिट्यान्स भुक्तानी भएको रकम राफसाफ नगरेपछि सहकारी संस्थाहरु अहिले सरकार गुहार्न थालेका छन् ।

विभिन्न निकायमा उजुरी दिन थालेका छन् । तर, नियमनकारी निकायहरु भने आफनो जिम्मेवारी नभएको भन्दै टकटकिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *