ताप्लेजुङको फुङलिङ नगरपालिकामा २९ करोड लागतको फोहोर मैला प्रशोधन केन्द्र पाँच वर्षदेखि अलपत्र

फुङ्लिङ, फुङलिङ नगरपालिकाले ३ नम्बर वडाको भीर कुना क्षेत्रमा ७४ रोपनी जग्गा लिएर सुरु गरेको फोहोर मैला प्रशोधन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माणको काम अलपत्र अवस्थामा रहेको छ ।

करिब ५ वर्षअघि बाट सुरु गरिएको उक्त फोहोर मैला प्रशोधन केन्द्रको काम अलपत्र अवस्थामा रहेको हो ।

ताप्लेजुङको फुङलिङ बजारबाट सङ्कलन हुने फोहोर मैलालाई प्रशोधन गरी उत्पादनमूलक, आयमूलक तर्फ व्यवस्थापन गर्ने गरी फुङलिङ नगरपालिकाले २९ करोडको योजना अघि सारेको थियो ।

स्थानीयलाई समेत रोजगारी दिने उद्देश्यले सङ्घीय सरकार अन्तर्गतको विशेष अनुदानमार्फत निर्माण हुने गरी फोहोर मैला प्रशोधन केन्द्रको कार्य सुरु भएको थियो ।

तर, कार्यले पूर्णता नपाउँदा स्थानीयले बस्ती नै छाडेर जानुपर्ने अवस्थाको सिर्जना हुन थालेको छ ।

प्रशोधनका लागि संरचना निर्माणले पूर्णता नपाएपछि भीरमा फालिएको फोहोर मैलामा करिब साता अगाडि देखि लागेको आगोको धुवाँ दुर्गन्ध आसपासका बस्तीसम्म फैलिँदा स्थानीयलाई सकस परिरहेको छ ।

बर्सेनि आगलागी हुने गरेको र वर्ष दिनमा पनि आगो नियन्त्रणमा आउन नसक्ने भएकाले धूवाँ र गन्धका कारण यस क्षेत्रमा बस्न नसकिने अवस्था आएको स्थानी नरेन्द्र पुरीले बताए ।

आगलागीका कारण निस्किएको धूवाँ धुलोले खोकी लाग्ने घाटी दुख्ने जस्ता समस्या खेप्नु परेको फुङलिङ नगरपालिका वडा नं ३ आगेदिमका डिल्लीराम पुरीले बताएका छन् ।

यस्तो समस्याले पुरै गाउँ नै प्रभावित भएको उनको भनाई छ । यसको व्यवस्थापन नगरपालिकाले चाँडै गर्नु पर्ने यसको प्रभावबाट भएको रोगको उपचार निःशुल्क रूपमा नगरपालिकाले गर्नु पर्ने पुरीको माग छ ।

विगतका वर्षमा लागेको आगो नियन्त्रणका लागि नगरपालिकाले पहल भने नगरेको होइन ।

तर, भौगोलिक कठिनाइ कारण ती पहलहरू असफल भएकाले समस्या जहाँको त्यहीँ छ ।

नियन्त्रणमा खटिएका स्थानीयको ज्यान नै जोखिममा पर्ने भएकाले दिगो समाधानको लागि नगरपालिकासँग हारगुहारमा नागरिक बाँचिरहेका छन् ।

स्थानीय पृथ्वी पालुङवाका अनुसार उक्त क्षेत्रमा ४ वर्ष अगाडिदेखि बर्सेनि आगलागी हुँदै आएको छ ।

सुरुमा नगरपालिकाले आगो निभाउने पाइपको व्यवस्था गरेपनि उक्त पाइपबाट आगो निभाउन सम्भव नभएको उनको भनाइ छ ।

यस्तै एक साता भन्दा अघिबाट भइरहेको आगलागीलाई नगरपालिकाले बेवास्ता गरिरहेको देवीमाया पालुङवाको गुनासो रहेको छ ।

उक्त क्षेत्रमा नगरपालिकाले पाइप दिए पनि पाइपबाट नियन्त्रणको सम्भावना नभएकोले दमकलको लागि बाटो निर्माण गर्न आवश्यक रहेको उनले बताए ।

बाटो खोलेको चार वर्ष बितिसक्दा पनि दमकल पुग्ने बाटो निमार्ण हुनु नसक्नु अचम्मको कुरा भएको उनको भनाई छ ।

बाटोको लागि छुटिएको बजेट कहाँ जान्छ खोजी गर्नु जरुरी रहेको उनले बताए ।

दिगो समाधानका लागि चाँडै स्थलगत अनुगमन गरी छलफलको माध्यमबाट पहल गर्ने नगरपालिकाको प्रवक्ता मोहन न्योपानैको भनाई छ ।

हालसम्ममा ६ करोड बजेटको मात्रै निर्माण कार्यहरू भएका छन् । थप बजेट अभावका कारण निर्माणको कार्य सम्पन्न गर्न नगरपालिकालाई सकस परिरहेको छ ।

बजेटको सुनिश्चित नै नभई सुरु गरिएको बहुवर्षीय योजनाहरू अलपत्र हुँदा स्थानीयले त सास्ती खेपेका छन् नै, प्रयोग भएका बजेटको समेत प्रतिफल पाउन मुस्किल परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *