कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाण्डू, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।

कांग्रेस बैठक गत असोज २८ गतेदेखि शुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।

आजको बैठकमा पार्टीको १५ औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ ।

हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ ।

यस अवस्थामा शुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ ।

नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए ।

त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।

यसअघि असोज २८ गते शुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

त्यसयता उहाँको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।

यसबिचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *