काठमाण्डू, नेकपा एमालेले पार्टीको महाधिवेशन आगामी मंसिरमा गर्ने र प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै विघटनविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।
साथै हालको गतिविधिलाई प्रतिगमनको संज्ञा दिँदै एमालेले प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ ।
तीन दिनदेखि जारी भइ आइतबार राति सकिएको एमाले पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता ज्ञवालीले यही २९, ३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा यी एजेन्डा लैजाने निर्णय भएको बताए ।
उनले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको कुनै वातावरण नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।
‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् ।
चौकीहरू पुनःस्थापना भएको छैन, कसरी चुनाव हुनसक्छ रु’, ज्ञवालीले भन्नुभयो– ‘केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्नेछ, त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुनेछ ।
चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ रु निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव रु’
नेता ज्ञवालीले संसद् पुनःस्थापनाबाट नै अहिलेको समस्याको निकास दिने बताए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर आएको दाबी उनको थियो ।
यससम्बन्धी आवश्यक निर्णय आगामी महाधिवेशनले गर्ने ज्ञवालीले स्पष्ट पारे । उनले भने, ‘मिडिया मोनुपुलेट भयो, दुई दिनमा कित्ताकाटका धेरै कुरा आए तर त्यसो होइन ।
नेतृत्वको विषयमा छलफल भएको हो, मन माझामाझ भएको हो, सबैले खुलेर कुरा गर्नुभएको छ, जीवन्त छलफल भएको छ, हामी महाधिवेशनमा जान्छौँ, प्रतिगमनविरुद्धको साझा निचोड आएको छ ।’
मंसिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने तथा मिति र स्थान भने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए ।
